
१९ वर्षीय युवकले हानेका थिए हवल्दार गुरुङलाई चक्कु
काठमाडौं — भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वर प्रभागमा सहायक हवल्दार अमृत गुरुङको विभत्स हत्या भएको प्रकरणमा १९ वर्षीय अनुपम भण्डारी पक्राउ परेका छन्। प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–४ घर भई काठमाडौं बस्दै आएका भण्डारीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको छ।
भण्डारी करिब तीन महिनाअघि भारतको बैंगलोरमा दुई हप्ता क्रिकेट प्रशिक्षण लिएर फर्केका थिए। उनले काठमाडौंको मेघा क्रिकेट एकेडेमीमा भर्ना भएर प्रशिक्षण लिइरहेका थिए। अनुसन्धानबाट भण्डारीले २४ भदौको आन्दोलनको दिन कोटेश्वर प्रभागमा प्रहरीमाथि ढुंगामुढा, फलामको रड र चक्कु प्रहारमा भाग लिएको पुष्टि भएको छ।
प्रहरीको सार्वजनिक भिडिओमा देखिएको फुटेज अनुसार आन्दोलनकारीहरूले सहायक हवल्दार गुरुङलाई नियन्त्रणमा लिएर सडकमा घिसार्दै, छतबाट तल झार्दै, र बाथरुममा थुनेर अचेत र रगताम्मे अवस्थामा छाडेका थिए। भण्डारीले पनि चक्कु प्रहारमा संलग्नता स्वीकारेका छन्।
कोटेश्वर प्रभागमा ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए। कार्यालयमा आगो लगाइएपछि प्रहरीहरूले बर्दी फुकालेर हुलिया बदलेर ज्यान जोगाएका थिए। आन्दोलनकारीले प्रभागमा तोड़फोड, आगजनी, लुटपाट गर्दै कार्यालय तहसनहस पारेका थिए।
घटनाको दिन गुरुङलाई स्थानीयले बीएण्डबी अस्पताल ग्वार्को पुर्याएका थिए, तर उपचारको क्रममा दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको थियो। गुरुङका ७ महिनाका छोरा, श्रीमती र ६० वर्षीय बाबु छन्।
जेनजी आन्दोलनका क्रममा ३ प्रहरीसहित कुल ७६ जनाको मृत्यु भएको थियो। अनुसन्धानका क्रममा भण्डारीको घरबाट घटना भएको बेला लगाएको कपडा बरामद गरिएको छ।



कागजपत्र |
