
आजदेखि वर्षा–हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म देशभर वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी गराएको छ। पश्चिमी वायु र अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम उल्लेख्य रूपमा प्रभावित हुने विभागले ‘पोस्ट–मनसुन विशेष मौसम बुलेटिन’ मार्फत जनाएको हो।
विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै देशका अन्य सबै प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा पनि मध्यम प्रकृतिको हिमपातको सम्भावना रहेको छ।
अरब सागरबाट विकसित भएको प्रणालीको प्रत्यक्ष प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
संभावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, पर्वतारोहण र पर्यटन क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धान काटेर खेतमै छाड्ने कार्य नगर्न किसानलाई सचेत गराएका छन्।
यता, मौसमविद्हरूका अनुसार अरब सागरको प्रणालीले मुलुकको पश्चिमी भूभागमा बढी प्रभाव पार्दैछ। त्यस्तै बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोन्था साइक्लोन’ नामक अर्को प्रणालीले भने पूर्वी भूभागमा असर पुर्याउनेछ। विभागले आधिकारिक रूपमा जानकारी गराइसकेको छैन, तर उक्त प्रणालीको प्रभाव बुधवार वा बिहीवारदेखि शनिवारसम्म देखिन सक्ने अनुमान छ।
उक्त प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा गराउने सम्भावना छ भने पूर्व मधेश र कोशी प्रदेशमा मुसलधारे वर्षाको जोखिम उच्च रहेको मौसमविद्हरू बताउँछन्। वर्षा र हिउँका कारण यात्रा तथा कृषि गतिविधिमा असर पर्न सक्ने भए पनि वायु प्रदूषण घटाउने, हिमालमा हिउँ सञ्चिति बढाउने, जलस्रोत र जमिनमा आर्द्रता कायम राख्न सहयोग पुग्ने भएकाले समग्रमा कृषिमा उपयोगी हुने विभागको आकलन छ।




कागजपत्र |
