हायात व्यवस्थापनले भन्यो- जेनजी आन्दोलनपछि बन्द भएको होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ


काठमाडाैं- पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटेल्स (हायात रिजेन्सी काठमाडौं)ले जेन–जी आन्दोलनका क्रममा होटेलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटेलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटेलले आभार व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनःनिर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

‘आन्दोलनका क्रममा होटेलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटेलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटेलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटेल पूर्ण रूपमा बन्द छ’, होटेलले भनेको छ, ‘हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटेल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ स्तरोन्नति र पुन:र्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटेलको भनाइ छ ।

होटेलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने र नेपालको फ्ल्यागशिप होटेलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ ।

‘होटेल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ । यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौदेखि हजारौँ व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउदैँ आएका छौँ’, होटेलले भनेको छ ।

प्रतिक्रिया