नर्सिङ संघको आन्दोलन : अत्यावश्यक सेवा बाहेकका नर्सिङ काम बन्द हुने


 

काठमाडौं- नेपाल नर्सिङ संघले तलब–सुविधा र श्रम अधिकारका मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रकला शर्माले आन्दोलनको पहिलो चरणअन्तर्गत कात्तिक ४ देखि ११ गतेसम्म देशभरका नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने र कात्तिक १२ देखि १८ गतेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ काम बन्द गर्ने बताइन् ।

संघका अनुसार नर्सहरूलाई श्रम ऐनले तोकेको भन्दा कम तलब दिइनु दुःखद छ । नर्सहरूको तलब स्वास्थ्य सेवा ऐनअनुसार हुनुपर्ने संघको माग छ ।

संघले न्यूनतम पारिश्रमिक, पेशागत हकहित र कार्यसुरक्षासम्बन्धी १५ बुँदे माग स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालयले हाल अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसलाई संघले स्वागत गरेको छ ।

नर्सिङ संघले जारी गरेको विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य सेवामा पर्न सक्ने असुविधाबारे क्षमा याचना गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख छ । संघले नर्सहरूको जायज माग पूरा गर्न सबै सरोकारवालालाई सहयोगको आह्वान गरेको छ ।

 

प्रतिक्रिया