
सहिद परिवार रुन बाध्य, जेनजी नेताहरू कुर्सी खोज्दै !
काठमाडौं – भदौ २३ र २४ को जेनजी आन्दोलनले देशको सत्ता नै उल्ट्याइदियो, तर आन्दोलनका अगुवा अहिले आपसमा विभाजित हुँदै गएका छन् । स्वतन्त्र नागरिक आन्दोलनको रूपमा सुरु भएको यो अभियान अहिले दर्जनौँ समूहमा बाँडिँदै छ । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा आमनिर्वाचन घोषणा गरिसक्दा, आन्दोलनका नेताहरू भने नयाँ पार्टी दर्ता र सत्ता समीकरणमा व्यस्त देखिन्छन् ।
सुदन गुरुङ, मिराज ढुंगाना, रक्षा बम र प्रवेश दाहाल नेतृत्वका समूहहरू जेनजी नाममा छुट्टाछुट्टै पार्टी खोल्ने तयारीमा छन् । सुदन गुरुङ समूहलाई अहिले सबैभन्दा बलियो मानिन्छ । बालेन शाह, सागर ढकाल, सुमना श्रेष्ठ र निश्चल बस्नेतजस्ता चर्चित पात्रहरूको समर्थन रहेको यो समूहले ‘हामी नेपाल’ नामक पार्टी संरचना तयार गर्दै सातै प्रदेशमा संगठन विस्तार गरिरहेको छ ।
त्यसैबेला मिराज ढुंगाना समूहले चुनावमा नजाने घोषणा गर्दै, सुधारमुखी पार्टी बनाउने तयारीमा लागेको छ । भदौ २३ को आन्दोलनमा नेतृत्व भूमिका खेलेका मिराजले कार्तिक १ गते नयाँबानेश्वरमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी गठनको घोषणा गरेका थिए । अर्कोतर्फ, रक्षा बम समूहले देशभरका जेनजी कार्यकर्तासँग संवाद गर्दै आगामी फागुन २१ को निर्वाचनमा सहभागिता जनाउने तयारीमा छ । उनको पछाडि प्रदीप ज्ञवाली र युजनराज भण्डारीजस्ता नाम देखिन्छन् ।
प्रवेश दाहाल समूह पनि चर्चामा छ । आफूलाई “दोस्रो मदन भण्डारी” भनेर चिनाउने दाहालले सिडिओ कार्यालयसँग अनुमति माग्ने कार्यकर्तासँग मिलेर पार्टी बनाउने तयारी गरिरहेका छन् ।
तर आन्दोलनमा ज्यान गुमाएका ७० बढी परिवार र घाइतेहरू अझै बेवास्तामा छन् । “जेनजी हाम्रो बलिदानको परिणाम हो, तर अहिले हामीलाई कोही सम्झिँदैन,” एक घाइते जेनजी सदस्यको भनाइ छ । सिंहदरबार पुगेर प्रधानमन्त्री भेट्न खोज्दा समेत रोकिएको उनीहरूको गुनासो छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जेनजीको असंगठितता आन्दोलनको मूल आत्मालाई नै कमजोर पार्दैछ । यद्यपि, यी समूहहरूबीच पुनर्मिलनको प्रयास भए जेनजी पुनः राष्ट्रिय शक्ति बन्न सक्ने सम्भावना अझै बाँकी छ ।



कागजपत्र |
