
जेनजीको नाममा अराजकता फैलाउनेलाई नियन्त्रणमा लिन्छौं : गृहमन्त्री अर्याल
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा विभिन्न कार्यालयमा गएर कर्मचारी र पदाधिकारीलाई धम्क्याउने वा थर्काउने व्यक्तिमाथि सरकारले निगरानी राखेको र आवश्यक परे नियन्त्रणमा लिने चेतावनी दिएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले भने, ‘जेनजीको विद्रोह सुशासनका लागि हो। तर, जेनजीको नाममा कसैले गलत क्रियाकलाप गर्छ भने त्यो सुशासनविरोधी काम हो। त्यसलाई सरकारले निगरानीमा राख्छ र परिस्थिति अनुसार प्रहरीले नियन्त्रणमा लिन्छ।’
उनले अधिकार नभएका व्यक्तिहरूले सरकारी वा संवैधानिक कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने वा हप्क्याउने छुट छैन भन्दै कानुनको शासन पालना गर्न सबैलाई सुझाव दिए। ‘सुशासन भनेको विधिको शासनबाट सुरु हुन्छ,’ मन्त्री अर्यालले भने, ‘सबैले कानुन बमोजिम चल्नुपर्छ।’
हालै केही व्यक्तिहरूले जेनजीको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका कार्यालयमा पुगेर कर्मचारीलाई राजीनामा दिन दबाब दिने वा हप्क्याउने गतिविधि गरेको समाचार सार्वजनिक भएका थिए।



कागजपत्र |
