एमालेबाट वडाअध्यक्ष बनेका पन्तको उर्दी- तिहारमा देउसी–भैलो नखेलौं


काठमाडाैं- चितवनकाे भरतपुर महानगरपालिका–१२ का वडाअध्यक्ष लेखराज पन्तले यस वर्षको तिहारमा देउसी–भैलो नखेल्न र झिलिमिली बत्ती नबाल्न आग्रह गर्दै जारी गरेको सूचनाप्रति व्यापक विरोध सुरु भएको छ ।

नेकपा एमालेबाट निर्वाचित  वडाअध्यक्ष पन्तले असोज २७ गते जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनका क्रममा मारिएका ७८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस वर्षको तिहार “सरल, मर्यादित र संयमित” रूपमा मनाउन आग्रह गरेका छन् ।

उनले जारी गरेको सूचनामा भनिएको छ, “यस २०८२ सालको तिहारमा वडाभित्र झिलिमिली बत्ती, अत्यधिक सजावट नगर्नुका साथै देउसी–भैलो समेत नखेल्न हार्दिक अनुरोध गर्दछौं। त्यसको सट्टामा घर–आँगनमा एक दियो बाल्दै शान्तिपूर्ण श्रद्धाञ्जली अर्पण गरौं।”

तर, पन्तको यो अपिल हिन्दू धर्ममाथिको हस्तक्षेपको रूपमा लिइँदै विरोध चर्किएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा पन्तको निर्देशनलाई “धर्मविरोधी” र “ईसाई मिशनरीको प्रभावमा ल्याइएको” भनेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य उद्ववराज भेटुवालले लेखेका छन्, “ईसाई मिशनरीका कुरा नसुनौं। महान् हिन्दू पर्व दीपावली भव्यताका साथ मनाऔं। देश शोकमा छ भने पनि त्यो शोक माओवादीको व्यवस्थाले ल्याएको हो।”

यस्तै, सामाजिक सञ्जालमा टिप्पणी गर्दै कुलबहादुर थापा मगरले लेखेका छन्, “माओवादी भनेकै इसाईहरूको संगठन हो भन्ने कुरा हामीले पटक–पटक भन्दै आएका थियौं। प्रचण्ड पादरीकी छोरी रेणुले अब देउसी–भैलो पनि खेल्न नदिने रे। अब यसले त पूरै पुष्टि गर्‍यो।”

उनको भनाइ अनुसार भरतपुरकी मेयर रेणु दाहाल (प्रचण्डकी छोरी) को नेतृत्वमा भरतपुर महानगरले धार्मिक परम्परामा हस्तक्षेप गर्दै आएको आरोप समेत लगाइएको छ ।

प्रतिक्रिया