नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द


काठमाडाैं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी अक्टोबर १९ गतेको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ। निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी गरेको विज्ञप्तिमा नियमित उडान तालिकाअनुसार तोकिएको उक्त उडान निगमको आन्तरिक कारणले रद्द भएको उल्लेख गरिएको छ।

उनका अनुसार, रद्द गरिएको उडानका सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट पुनः व्यवस्थापन गरिएको छ।

निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरअन्तर्गत हालसम्मको टिकट बिक्रीको विवरण पनि सार्वजनिक गरेको छ। निगमका अनुसार, १६ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडानका लागि ६८ जना यात्रु र १७ अक्टोबरका ग्वाञ्जाओ–काठमाडौं उडानका लागि ४१ टिकट बिक्री भइसकेका छन्। त्यसैगरी, २३ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडानमा क्रमशः ९३ र २० टिकट बिक्री भइसकेको निगमले जनाएको छ।

केही सञ्चारमाध्यमहरूले यात्रु संख्या न्यून भएकै कारण उडान रद्द गरिएको समाचार प्रकाशित गरेपछि निगमले त्यसप्रति ध्यानाकर्षण जनाएको छ। निगमले स्पष्ट पारेको छ कि ग्वाञ्जाओ गन्तव्य नेपाल एयरलाइन्सका लागि नयाँ भएको र हाल प्रचार–प्रसारको चरणमै रहेको कारण यात्रु संख्या क्रमिक रूपमा वृद्धि भइरहेको छ।

निगमले ग्वाञ्जाओ उडानको बुकिङ बढ्ने क्रममा रहेको भन्दै उक्त नयाँ सेक्टरको प्रवर्द्धनमा सञ्चार माध्यमसहित सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया