
भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता
काठमाडौं- सरकारले स्वीकृत मापदण्ड विपरीत अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ।
गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा यही असोज २३ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस प्रकारको अनधिकृत खटाइ फिर्ता गर्ने निर्णय गरेको थियो।
निर्णयअनुसार, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटाइएका ४५ जना सुरक्षाकर्मीमध्ये २७ जना र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटाइएका ५२ जनामध्ये ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता भएका छन्।
सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधि–२०७७’ अनुसार पूर्व राष्ट्रपतिदेखि पूर्व पदाधिकारी/पूर्व मन्त्रीसम्मको सुरक्षार्थ अधिकतम संख्या तोकेको छ। सुरक्षा कार्यविधिमा पूर्व प्रधानमन्त्रीको सुरक्षार्थ अधिकतम १८ जना सुरक्षाकर्मी खटाउने व्यवस्था छ।
तर केही बहालवाला र पूर्व उच्च पदस्थ अधिकारीले व्यक्तिगत लाभका लागि घरको भान्छे, निजी चालक वा अन्य घरेलु कामदारका रूपमा सुरक्षाकर्मीको दुरुपयोग गर्ने गरेको पाइएको थियो।
गृह मन्त्रालयले अनधिकृत रूपमा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गरी कार्यविधिले स्वीकृत मात्र सुरक्षाकर्मी खटाउने व्यवस्था गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्म फिर्ता भएका २७१ सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना रहेका छन्। फिर्ता गरिएका सुरक्षाकर्मीलाई पूर्ववत् जिम्मेवारीमा खटाउने तयारी भइरहेको छ।



कागजपत्र |
