
शिक्षकसँग साढे ४ लाख घुस लिने प्रधानाध्यापक पक्राउ
गौर – रौतहटमा घुस लिएको आरोपमा एक प्रधानाध्यापक र उनका सहयोगी पक्राउ परेका छन्।
देवाही गोनाही नगरपालिका–९ धरहरीमा रहेको जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जयप्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
प्रधानाध्यापक साहले विद्यालयमा शनिबार निर्धारित माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ।
वीरगन्जका एक शिक्षकले आवेदन फारम भरेपछि साहका सहयोगी अरविन्दप्रकाश साहमार्फत रकम मागिएको जानकारी आयोगलाई प्राप्त भएको थियो। सोही आधारमा अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयमा अरविन्दलाई रंगेहात पक्राउ गरेको बताइएको छ।
सोही क्रममा टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि शुक्रबार राति काठमाडौँ लगिएको आयोगले बताएको छ।
यता विषयमा रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले भने, “शिक्षक नियुक्तिसँग सम्बन्धित घुस प्रकरण भएको भन्ने सूचना पाइएको छ। अहिले अख्तियारको टोलीले अनुसन्धानका लागि काठमाडौँ लगेको छ।’ घटनाबारे अनुसन्धानपछि मात्र स्पष्ट हुने उनले बताए।



कागजपत्र |
