
जोगवनीमा हिन्दु–मुस्लिम बीच झडप, नेपाली किनमेलकर्ताबीच भागदौड
विराटनगर- भारतको सीमावर्ती बजार जोगवनी शुक्रबार दिउँसो केही घण्टासम्म तनावग्रस्त बनेको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर सुरु भएको विरोध प्रदर्शनपछि अवस्था असामान्य बनेको हो ।
स्थानीयका अनुसार मुस्लिम समुदाय विरोधमा उत्रिएपछि बजरंग दलका युवाहरु पनि घटनास्थलमा पुगेका थिए । त्यसपछि मुस्लिम र हिन्दु समुदायबीच दोहोरो झडप समेत भएको बताइएको छ ।
तनाव बढेपछि किनमेलका लागि पुगेका नेपालीमध्ये सयौं जना भागाभाग गर्दै नेपालतर्फ फर्किएका थिए । भीड नियन्त्रण र सम्भावित दुर्घटना रोक्नका लागि तत्कालै नेपाल–भारतबीचको जोगवनी–रानी सीमा नाका बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
विराटनगरको रानी नाकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक्दै सीमा क्षेत्रमा नै फर्काइदिएका थिए ।
तनाव बढे पनि सुरक्षा निकायको सक्रियतापछि अपराह्नतिर अवस्था नियन्त्रणमा आएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार अहिले अवस्था सामान्य बनेको छ र नाकामा आवतजावत सुचारु गरिएको छ ।



कागजपत्र |
