कैलालीमा ढुङ्गा हानेर साधुको हत्या


कैलाली- कैलालीको गोदावरी नगरपालिका–४ चुनेपानीमा एक साधु हत्या भएको छ। चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा कुटी बनाएर बस्दै आएका साधु भगत रामनारायण डगौराको बुधबार राति करिब साढे १२ बजे हत्या भएको प्रहरीले जनाएको छ।

कञ्चनपुर कृष्णपुर नगरपालिका घर भएका ७८ वर्षीय डगौराको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मृतकको टाउकोमा ढुङ्गा प्रहार भएको विवरणसहित लक्ष्मीनारायण मन्दिर तर्फबाट जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

मृतक डगौरा करिब १६ वर्षदेखि सो मन्दिर परिसरको बगैँचामा कुटी बनाएर बस्दै आएका थिए। घटनापछि मलाखेती प्रहरीले साधुको हत्या प्रकरणमा शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया