दसैँमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता


दोधारा चाँदनी (कञ्चनपुर)- नेपालीहरूको दसैँ सुरु भइसक्दा पनि राउटेहरूले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । उनीहरू समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरूले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको उल्लेख गर्दै दसैँमा भत्ता नआउँदा दुःख लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ का बडसिंह राउटेले बताए । ‘पहिले समयमै भत्ता आउँथ्यो तर अहिले दसैँ सुरु हुँदा पनि भत्ता आएन,’ उनले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरूलाई खाद्यान्न, नुन, तेललगायत सामग्री किन्न समस्या भएको बडसिंहको भनाइ छ । ‘हामी बुढाबुढीको २४ हजार रुपैयाँ भत्ता आउँथ्यो । त्यसैले हामीले पनि चाडपर्व मनाउथ्यौँ,’ बडसिंहले भने, ‘जंगलबाट सरकारले गाउँमा ल्यायो, काठका सामग्री बनाउन पनि काठ नपाउने अवस्था छ ।’

जंगलका कन्दमूल खाने र काठबाट भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्ने भए पनि बस्तीमा बस्दा छेउछाउका सामुदायिक वनबाट काठ ल्याउन नपाइने हुँदा काठको भाँडाकुँडा बनाउन पनि समस्या हुने गरेकोे किरीदेवी राउटेले बताइन् । उनले भनिन्, ‘यहाँ भत्ताबाहेक अन्य केही रोजगारी छैन, एउटा छोरो कमाउनका लागि भारत गएको छ,’ उनले भनिन्, ‘नौ महिना भारतमा मजदुरी गर्छ । तीन महिना घरमा बस्छ । त्यसैले गुजारा चलेको छ ।’

आफूहरूको जीविकोपार्जन भत्ताको भरमा परिवार चल्ने गरेको उल्लेख गर्दै अनिता राउटेले भनिन्, ‘गाउँघरमा ज्यालामजदुरी गर्न पनि पाइँदैन, बस्तीमा टहरा मात्रै छ, कमाइ खान जग्गा छैन ।’

भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष गगनसिंह कार्कीले यस वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरणको समय एक महिना थप गरेकाले सामाजिक सुरक्षा भत्ता दिन नसकिएको बताए । ‘पहिला भदौ मसान्तभित्र नवीकरण हुन्थ्यो, दसैँअगाडि भत्ता आउँथ्यो,’ उनले भने, ‘असोज मसान्तसम्म नवीकरणको समय भएकाले भत्ता दिन नसकिएको हो ।’

उनका अनुसार उक्त वडामा २० जना राउटेले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । लोपोन्मुख राउटे समुदायका परिवारका सबै सदस्यले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रतिक्रिया