
शपथ ग्रहणपछि मन्त्री पुनले भने- विज्ञको सल्लाहअनुसार मात्र काम अघि बढाउँछु
काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले शपथ ग्रहणपछि आफूलाई कुनै ठोस योजना नरहेको स्पष्ट पारेका छन्। शीतल निवासमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू ‘अपर्झट’ अवस्थामा मन्त्री बनेको र तत्काल के गर्ने भन्ने योजना नभएको बताए।
डा. पुनले भने, “म किताब बेच्दै गरेको मान्छे हुँ, अपर्झट मन्त्री बनेपछि अहिले नै के गर्ने भनेर म भन्न सक्दिनँ।” उनले मन्त्रीका रूपमा कुनै सेवा सुविधा नलिने र मन्त्रालयमै बसेर काम गर्ने समेत बताए।
उनले आफ्नो प्राथमिकतामा विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धान रहने बताए। तर शिक्षा क्षेत्रमा के-कस्तो कदम चाल्ने भन्नेबारे अहिले खुलासा गर्न चाहँदैनन्। मन्त्री पुनले विज्ञको सल्लाहअनुसार मात्र काम अघि बढाउने र छरितो तरिकाले कार्यान्वयन गर्ने बताए।
सञ्चारकर्मीको प्रश्नमा निःशुल्क शिक्षा लागू गर्ने योजना छ कि भन्ने विषयमा उनले भने, “म मन्त्री हुँदैमा भगवान् होइनँ। केही न केही गरौँला।”
डा. पुनले युवाहरुलाई आफ्नो बुद्धि र सोच प्रयोग गरी काम गर्नुपर्ने सन्देश दिएका छन्, अरूलाई पछ्याएर वा कसैको ‘पुच्छर’ बनेर होइन।



कागजपत्र |
