
श्रीमतीमाथि खुकुरी प्रहारपछि आत्मह*त्या
इलाम- इलाम नगरपालिका–१, शाखेजुङका प्रकाश राईले आफ्नै श्रीमती टिकामाया मुखियामाथि खुकुरी प्रहार गरेका छन् र पछि आत्महत्या गरेका छन्।
आइतबार बिहान करिब १० बजे भएको घटनामा ४५ वर्षीय राईले श्रीमतीको टाउको र बाँया हातमा गम्भीर चोट पुर्याएका छन्, इलाम प्रहरीका सूचना अधिकारी डिएसपी सन्जिव बोगटीले जानकारी दिए।
प्रकाश राईलाई खोजतलास गर्दा घर नजिकै झिंगीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ।
घाइते टिकामायालाई रक्से प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोजन नेम्वाङको नेतृत्वमा गएको टोलीले उद्धार गरी जिल्ला अस्पताल इलाम पुर्याएको थियो। उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि झापाको बिर्तामोडस्थित अस्पताल पठाइएको छ।
डिएसपी बोगटीका अनुसार घाइते अहिले बोल्न असमर्थ अवस्थामा छन्। घटनास्थललाई सुरक्षित बनाउन प्रहरीले टोली परिचालन गरेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाम मंगलबारेबाट पाँच जनाको प्रहरी टोली खटाइएको छ।



कागजपत्र |
