
हमासका बन्धक विपिनका आमा–बहिनी सिंहदरबार पुग्दा…
काठमाडौं- प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
सिंहदरबारमा भएको भेटमा उनीहरूले विपिनको सकुशल रिहाइका लागि सरकारलाई निरन्तर पहल गर्न आग्रह गरेका थिए।
भेटपछि आमा पद्मा जोशीले यसअघिका सरकारहरूले पहल गर्ने आश्वासन दिँदा पनि कुनै नतिजा नआएकाले अबको सरकारबाट ठोस परिणामको अपेक्षा गरेको बताइन्। त्यस्तै, बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा भएकाले आमाको पीडा र पीडित परिवारको व्यथा बुझ्ने विश्वास आफूहरूले गरेको उल्लेख गरिन्।
पुष्पाका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले विपिनको सुरक्षित रिहाइका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले थपिन्, “विपिन नेपालका नागरिक भएकाले उनलाई सकुशल फर्काउन सरकार, राजनीतिक दल र सम्पूर्ण निकायले मिलेर पहल गर्नुपर्छ।”
यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ जना इजरायली बन्धकहरूको तस्वीर सार्वजनिक गरेको थियो।



कागजपत्र |
