
तुइन खोलाको पहिरो हटाउन सुरु, थप पहिरो नखसे आज सञ्चालनमा आउने सम्भावना
काठमाडौं — मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम बिहानैदेखि पुनः सुरु गरिएको छ ।
अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
बन्दका कारण काठमाडौं पोखरा सडक पनि सुचारु हुन सकेको छैन । बढ्दै गएको सवारी चापका कारण मुग्लिङबाट पार गर्न नसकिएको जनाइएको छ । यतिबेला सडकमा लामो जाम रहेको छ ।
लगातारको पहिरोका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ४ बजेदेखि पन्छाउने काम गरिए पनि लगातार ढुंगा खसिरहेकोले बाटो खोल्न सकिएको छैन ।
अलपत्र यात्रुहरुलाई केही समाजसेवीहरुले निःशुल्क खानाको व्यवस्था गरेका छन् ।
थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरोका कारण तीन दिनदेखि सवारी आवागमन बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् ।



कागजपत्र |
