धनगढीका पत्रकार बिष्टलाई उपमेयरका छोराको धम्की


धनगढी- बैतडीको दशरथचन्द नगरपालिकाकि उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले कैलालीका पत्रकार जनक बिष्टलाई धम्की दिएका छन्।

पत्रकार बिष्टलाई चन्दले टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन्। धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका बिष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन्।

धनगढी उपमहानगरपालिका– १३ का नवराज कार्कीको मोबाइल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन्।

जेनजीको हवाला दिदै धम्की आएको भन्दै पत्रकार बिष्टले सुरक्षा र कानुनी कारबाहीको माग गर्दै तीनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्।

२४ भदौको राति टेलिफोन गर्दै उनीहरूले सुरूमा बिष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटौँ भनेर कुराकानी गरेका थिए। ‘राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलौज गर्दै धम्की दिएका थिए,’ बिष्टले भने, ‘शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र मोर्चामा देखिएका थिए।’

पत्रकार विष्टका अनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन्। चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते पनि चन्दले बिष्टमाथि दुर्व्यवहार गरेका थिए।

सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेको थियो। तर, मदिरा सेवन गरेको सुरमा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो।

सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा धम्की दिदै पत्रकार विष्टको घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन्। उक्त प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम समितिले उनलाई सघाइरहेको छ।

प्रतिक्रिया