‘हामी नेपाल’का सुदन गुरुङलाई अज्ञात समूहले पछ्याएको दाबी


काठमाडौं – जेनजी आन्दोलनका नाममा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य स्टेकहोल्डर भएको दाबी गर्दै आएका ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङमाथि अज्ञात समूहले आक्रमण प्रयास गरेको आरोप लागेको छ।

गुरुङले आज दिउँसो एक भिडियो सार्वजनिक गर्दै रानीबारीस्थित कार्यालयदेखि बानेश्वरसम्म आफूलाई बाइक र कारमा आएका केही व्यक्तिहरूले पछ्याएको दाबी गरेका छन्। उनले भिडियोमा भनेका छन्, ‘‘मलाई कसैले फलो गरिरहेको छ। एउटा बाइक र एउटा कारमा आएका मान्छेहरूले पछ्याइरहेका छन्। मलाई केही भइहाल्यो भने, केटाहरू, तिमीहरूले अघि बढ्नैपर्छ।’’

तर जिल्ला प्रहरी परिसर काठमाडौँले भने यो घटनाबारे कुनै जानकारी नरहेको प्रतिक्रिया दिएको छ। परिसर प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार गुरुङमाथि आक्रमण प्रयास भएकोबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।

‘‘पछ्याइएको भनिएको क्षेत्रको इञ्चार्जसँग पनि बुझ्दा त्यस्तो रिपोर्ट आएको छैन,’’ एसएसपी अधिकारीले भने। घटनाबारे थप बुझ्न प्रहरी टोली खटाइएको उनले जानकारी दिए।

प्रतिक्रिया