
जितियाको दोस्रो दिन आज, निराहार व्रत बसिँदै
काठमाडौं – सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका आमाहरूले आइतबार जितिया व्रत बस्दैछन्।
शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् । आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।
शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास शुरु गरिएको हो।। अष्टमी तिथि आइतबार बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि शुरु भएको हो ।
निराहार व्रत सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झाले बताए।
पितृपक्षमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् । योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।
निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।



कागजपत्र |
