आगजनी र लुटपाटमा संलग्न चारजना भाटभटेनीभित्रै फसेर जले


धरान- धरानस्थित भाटभटेनी सुपरमार्केटमा २४ भदौमा भएको आगजनी र लुटपाटका क्रममा चार जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका निरीक्षक जीवन कुँवरका अनुसार मृत्यु हुने चारै जना आगजनी र चोरी गर्न भित्र पसेका थिए। तीव्र गतिमा आगो फैलिँदा उनीहरू भित्रै फसेर जलेका हुन्।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काका अनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा फेला परेको हो। यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक शव भेटिएकोमा दिउँसो चौथो तलामा थप तीन शव भेटिएका थिए।

शव खरानी भएको अवस्थामा फेला परेको र केही मात्र शरीरका भाग पहिचानयोग्य रहेको प्रहरीले जनाएको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार आगजनीका कारण करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबरको चोरी भएको छ।

प्रतिक्रिया