सरकारको निर्णयपछि ‘एक्स’ नेपालसँग सम्पर्कमा, मेटा अझै मौन


काठमाडौं- सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रियाबीच ‘एक्स’ ( ट्विटर) नेपालसँग सम्पर्कमा आएको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, मन्त्रालयलाई ट्विटरको सिङ्गापुर कार्यालयबाट पत्राचार इमेल आएको छ। इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको भए पनि आवश्यक सम्पूर्ण कागजात भने अझै आइनसकेको उनले बताए।

यता, फेसबुककाे माउ कम्पनी मेटाबाट भने अहिलेसम्म कुनै पनि आधिकारिक पत्राचार नभएको प्रवक्ता ठाकुरले स्पष्ट पारे। फेसबुकले पनि सम्पर्क गरेको भन्ने हल्ला बाहिरिए पनि त्यो तथ्य नभएको उनले प्रष्ट पारे।

उनका अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हटाइने व्यवस्था छ।

सरकारले हिजो मात्र नेपालमा प्रयोग भइरहेका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। तीमध्ये फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत लोकप्रिय प्लेटफर्मसमेत परेका छन्। हाल नेपालमा सूचीकृत भएका सामाजिक सञ्जाल भने टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै रहेका छन्।

प्रतिक्रिया