
वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्यो
काठमाडौं- वर्ल्ड लिङ्क इन्टरनेटले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।
आज बिहान जारी गरेको सूचनामा वर्ल्ड लिङ्कले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार, सम्मानित सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता नभएका प्लेटफर्मलाई निस्क्रिय बनाएको स्पष्ट पारेको छ। प्राधिकरणले २०८० सालमा ल्याएको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिकाअनुरूप वर्ल्ड लिङ्कले यस्तो कदम चालेको हो।
यद्यपि, टिकटक, भाइबरलगायत नेपालमा दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने अवरुद्ध नभई सामान्य रूपमा चलाइरहन सकिने कम्पनीले जनाएको छ।
यसअघि नेपाल टेलिकमले समेत सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरिसकेको थियो। त्यस्तै, एनसेल आजियाटा लिमिटेडले पनि हिजो सूचना जारी गर्दै दर्ता नभएका सामाजिक सञ्जाल एनसेलको इन्टरनेट सेवाबाट प्रयोग गर्न नसकिने जानकारी दिएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र इन्टरनेट सेवा प्रदायकहरूलाई सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्म नचलाउने निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार नेपालमा फेसबुकको यूआरएल समेत बन्द गरिएको छ।



कागजपत्र |
