
अवहेलना मुद्दामा सर्वोच्चद्वारा नारायणकाजीसँग लिखित जवाफ माग
काठमाडौं — सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।
कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । पूर्वमन्त्री समेत रहेका श्रेष्ठले ६ भदौमा सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टले अदालतको अवहेलना भएको जिकिर निवेदन गरिएको थियो ।
श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाइने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अनास्था फैलाउने खालको सामग्री पोस्ट गरेको दावी निवेदनमा गरिएको थियो ।
सर्वोच्चले उक्त पोस्टबारे जवाफ दिन भनेको हो । मुद्दामा बहस गर्दै अधिवक्ता अर्जुनबहादुर खड्काले माओवादी नेता श्रेष्ठको अभिव्यक्तिबाट ‘सर्वोच्च अदालतबाट दुई सय मिटरको दूरीमा टुकुचा किनारमा खरिद बिक्रीका लागि राखिएका खसिबोका जस्तो न्यायालयमा न्याय किनबेच हुने गरेको’ भन्ने अभिव्यक्ति प्रथम दृष्टिमै अदालतको अवहेलना रहेको जिकिर गरेका थिए । अधिवक्ता खड्काले ‘श्रेष्ठको अभिव्यक्ति अदालतको अवहेलना नमान्दा इजलासमा उपस्थित भएर बहस गर्ने कानुन व्यवसायीहरू अभिनय मात्र गरिरहेको र न्याय क्षेत्रमा पनि रेस्लिङ खेलमा जस्तो हारजित पहिल्यै तय गरिएको अर्थ लाग्ने’ तर्क गर्दै कारबाहीको माग गरेका थिए ।



कागजपत्र |
