
लालकुमार चेपाङलाई सुरक्षित आवास, मुख्यमन्त्री बानियाँबाट दुई लाख सहयोग
हेटौंडा (मकवानपुर) विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन्। लामो समयदेखि जीर्ण र असुरक्षित घरमा जीवन बिताउँदै आएका लालकुमारलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।
लालकुमारका सन्तान छैनन्। उपचारकै क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन्। सानुमाया सानै उमेरमा हात जलेर आंशिक अपाङ्ग बनेकी छिन्। दम्पतीले गाउँमै २ कट्ठा नम्बरी र करिब ३–४ कट्ठा ऐलानी जमिनमा खेती गर्दै आएका छन्। उनीहरूले बाख्रा र कुखुरा पनि पालेका छन्। तर, खरको छानो र काठपातले मात्र बनेको जीर्ण घरमा बस्नुपर्दा सदैव असुरक्षित महसुस हुने गरेको थियो।
कैलाश गाउँपालिकाले लालकुमारलाई सीमान्तकृत, जनजाति र अति विपन्न परिवारको प्रतिनिधि मान्दै सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्रीलाई सिफारिस गरेको थियो। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार स्थानीयस्तरमा अध्ययन गरेर सिफारिस गरिएको र मुख्यमन्त्रीले तुरुन्तै दुई लाख रुपैयाँ पहिलो किस्ता स्वरूप सहयोग गरेको बताए।
सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका नागरिक गाँस, बास र कपासबाट वञ्चित हुन नदिन सुरक्षित आवास कार्यक्रम अघि बढाइरहेको बताए।
यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि सहयोग गरिसकेका छन्।



कागजपत्र |
