
राजधानीमा फर्जी कागजात बनाउने कारखाना, तीन जना पक्राउ
काठमाडौं- जिल्ला प्रहरी परिसर, काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्रदेखि विभिन्न अनुभवका पत्र र प्रहरी रिपोर्टसम्म बनाउने गिरोहलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो महानगरपालिका–२६ सामाखुशी टाउनप्लानिङस्थित ‘ईजी सप’ नामक पसलमा छापा मार्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गोरखाको शहीद लखन गाउँपालिका–४ घर भई हाल काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ घर भई हाल धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ घर भई हाल गोंगबु बस्ने २९ वर्षीय सविन आले मगर रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लामिछानेको पसलमा छापा मार्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका नक्कली कागजातहरू कम्प्युटरमा फेला पारेको थियो। सो कम्प्युटरसहित तीनै जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
