नेपाल हुँदै ३ पाकिस्तानी आतंककारी बिहार प्रवेश गरेको दाबी


काठमाडाैं- भारतको बिहार राज्यमा नेपाल हुँदै प्रतिबन्धित आतंकी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित ३ जना पाकिस्तानी आतंककारी प्रवेश गरेको भारतीय संचारमाध्यमहरूले दाबी गरेका छन्। याे सूचना सार्वजनिक भएसँगै बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता (हाई अलर्ट) जारी गरेको छ।

सूचना अनुसार रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मान नामका आतंककारीहरू नेपाल मार्ग हुँदै बिहार प्रवेश गरेका हुन्। यी आतंककारीहरू यसै भदौ महिनाको दोस्रो सातामा काठमाडौँ पुगेको र त्यहाँबाट गत हप्तामात्रै सीमा पार गरी बिहार प्रवेश गरेको बताइएको छ।

बिहार प्रहरी मुख्यालयले सीमावर्ती जिल्ला प्रशासनलाई आतंकीहरूको विवरण पठाएको छ र विशेष सुरक्षा निगरानी बढाएको छ। खासगरी नेपालसँग सन्निकट सीतामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल जिल्लामा सुरक्षा कडाइ गरिएको छ।

सुरक्षा निकायका अनुसार विधानसभा चुनाव नजिकिँदै गर्दा यी आतंककारीहरूले उच्च मूल्यवान् लक्ष्य (हाई–भ्यालु टार्गेट) वा राजनीतिक गतिविधि भएको भीडभाड क्षेत्र लक्षित गर्न सक्ने जोखिम बढेको छ। त्यसैले सार्वजनिक स्थल, रेल्वे स्टेशन, बसपार्क, होटल तथा अन्य भीडभाड हुने स्थानमा सुरक्षा सतर्कता कडा पारिएको छ।

बिहार प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा खोजी अभियान तीव्र पारिएको छ भने आम जनतालाई पनि कुनै पनि शंकास्पद गतिविधि वा व्यक्तिबारे तत्काल जानकारी दिन आग्रह गरिएको छ।

तर, पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबीबारे नेपाल सरकारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया