
डडेलधुरा दुर्घटना अपडेट : मृत्यु भएका सबैको सनाखत, घाइतेको पहिचान (नाम, ठेगानासहित)
धनगढी — डडेल्धुरामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने चारै जनाको सनाखत भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जनाए ।
डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक साउदको अवस्था गम्भीर छ ।
उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
आज बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको अनुमान छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
