
उखु किसानको अनुदान भुक्तानी गर्न ७५ करोड निकासा
काठमाडौं – लामो समयदेखि आन्दोलनरत उखु किसानलाई सरकारको तर्फबाट अनुदान रकम निकासा गरिएको छ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा उत्पादन भएको उखुका लागि ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ अनुदान भुक्तानीका लागि निकासा गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार उक्त रकम आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा पुर्याइने व्यवस्था गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जनाए।
सरकारले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। यद्यपि किसानले प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन्। यही कारण सरकारले निकासा गरेको रकम किसानको अपेक्षाभन्दा आधा मात्र भएको भन्दै असन्तुष्टि बढेको छ।
गत आइतबारदेखि किसानहरूले अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा केन्द्रित आन्दोलन थालेका थिए। त्यसैबीच सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको वार्तामा किसान तर्फबाट श्यामबाबु रायसहितका प्रतिनिधि सहभागी भए भने मन्त्रालय तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधिहरू उपस्थित थिए।
गत आव २०७८/७९ को बजेटमा उखु खेतीलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, स्रोत अभाव देखाउँदै सरकारले विनियोजन रकम घटाएर आधा मात्र भुक्तानीका लागि निकासा गरेको हो।



कागजपत्र |
