
इजरायल र जापान पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीका नाममा रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
प्रहरीका अनुसार सुसनले “इजरायल पठाइदिन्छु” भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ लिएका थिए भने योगेन्द्रले “जापान पठाइदिन्छु” भन्दै अर्को पीडितबाट ६ लाख रुपैयाँ उठाएका थिए । रकम लिएको केही समयमै दुवै जना सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई आइतबार काठमाडौं महानगरपालिका–९ बाट र योगेन्द्रलाई सोमबार काठमाडौं–१० बाट पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ ।



कागजपत्र |
