भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पाैडेलबीच भेटवार्ता


काठमाडौं – नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया