
इम्बोस्ड नम्बर प्लेटविरुद्ध ‘जाग नेपाली’को आन्दोलन घोषणा
काठमाडौं ।सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि ‘जाग नेपाली’ ले त्यसको विरोधमा आन्दोलनको घोषणा गरेको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे हाे।
संगठनका संयोजक डा. दीपेश केसीका अनुसार, यो कदम नेपालको मौलिक देवनागरी लिपि मेटाउने षड्यन्त्र अन्तर्गतको कार्य हो। केसीले देवनागरी लिपि हटाएर रोमन लिपि जबर्जस्ती राख्न खोज्नेहरूलाई जनताले चाँडै लखेट्ने चेतावनी दिए।
“देशको लिपि नामेट पार्ने नेतालाई जनताले देशबाटै लखेट्नेछन्,” उनले ठोकुवा गर्दै भने, “अर्बौँको कमिशनको लोभमा विदेशीलाई फाइदा पुर्याउने र नेपालीलाई दुःख दिने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।”
उनले सत्ताको दुरुपयोग गरी आम नेपाली नागरिकलाई मातृभाषाबाट वञ्चित गराउने ‘ग्रान्ड डिजाइन’ विरुद्ध प्रतिकार गर्न सबैलाई आह्वान गरे।
डा. केसीले आरोप लगाउँदै भने, “माफिया योजनाअन्तर्गत देवनागरी लिपि मेटाउने राष्ट्रघातीहरूले जनतालाई डर, त्रास र धम्की दिइरहेका छन्। तर हामी विचलित हुँदैनौँ। हामी सबैलाई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न र जडान नगर्न अपिल गर्दछौँ।”



कागजपत्र |
