राज्यव्यवस्था सभापतिको निर्वाचनबारे छलफलमा सभामुख घिमिरे


काठमाडौं – सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे परामर्शमा जुटेका छन् ।

राज्य व्यवस्था समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ । त्यसैले सभामुख घिमिरे परामर्शमा जुटेको उनको सचिवालयले जनाएको छ ।

गत शुक्रबार प्रतिनिधि सभाको बैठक लगत्तै सभामुख घिमिरेले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग एक्लाएक्लै र संयुक्त छलफल गरेका थिए । सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका छन् । आज पनि सभामुख घिमिरे सरोकारवालासँग परामर्शमा छन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १३ गते बस्दैछ । सभा नरहेका बेला सभामुखले सूचना निकालेर समेत संसदीय समितिको सभापति निर्वाचनको तालिका सार्वजनिक गर्न सक्दछन् ।

प्रतिक्रिया