
चीन र भारतबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति
काठमाडौं- चीन र भारतले लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको उच्चस्तरीय भेटमा यस्तो सहमति भएको हो।
नयाँ दिल्लीमा मंगलबार सम्पन्न वार्तापछि जारी विज्ञप्तिमा १२ बुँदे सहमति सार्वजनिक गरिएको छ। त्यसको नवौं बुँदामा लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमानापार व्यापार पुनः सुरु गर्ने सहमति भएको उल्लेख छ।
यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका उच्च ट्यारिफका कारण उत्पन्न व्यापारिक चुनौतीबीच भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार, गलवान उपत्यकामा भएको घटनापछि भारत–चीनबीच तनावपूर्ण सम्बन्धका बीच यो दोस्रो पटकको उच्चस्तरीय भेटवार्ता हो।
यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका क्रममा पनि लिपुलेक पासमार्फत व्यापार गर्ने सहमति गरेका थिए। तर, त्यो बेला नेपाली भूमि प्रयोग गरेर भएको सहमति नेपाललाई जानकारी नदिई गरिएको भन्दै ठूलो विवाद र विरोध भएको थियो।



कागजपत्र |
