भारतकाे किश्तवाडमा अचानक बाढी आउँदा १२ जनाको मृत्यु


काठमाडाैं- भारतकाे जम्मू–कश्मीरस्थित किश्तवाड़ जिल्लामा बिहीबार अचानक भारी वर्षा (बादल फट्दा) हुँदा ठूलो जनधनको क्षति भएको छ। मचैल माता यात्राको मार्गमा पर्ने पदर उप–खंडअन्तर्गतको चिशोती गाउँमा आएको आकस्मिक बाढीले १२ जनाको मृत्यु भयो भने धेरै घर र संरचना डुबानमा परेका छन्।

लकडीको पुल र पीएमजीएसवाई अन्तर्गतको पुल पनि क्षतिग्रस्त भएका छन्। करिब २० जनालाई उद्धार गरिएको छ भने केही मानिस हराइरहेका छन्। पशुधनमा समेत ठूलो क्षति पुगेको छ।

जिल्ला प्रशासन, एनडीआरएफ, एसडीआरएफ, सेना र प्रहरीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन्। प्रमुख जिल्ला अधिकृत पंकजकुमार शर्माले घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा भइरहेको र अवस्थामाथि निरन्तर निगरानी राखिएको जानकारी दिएका छन्।

केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहले घटनास्थलको अवस्था बुझ्न तत्काल कदम चालेको र प्रभावितहरूलाई आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएको जनाएका छन्।

घटना स्थल किश्तवाड़ मुख्यालयबाट करिब ८०–९० किलोमिटर टाढा पर्छ र मचैल माता यात्रा हाल स्थगित गरिएको छ।

प्रतिक्रिया