
लामिछाने बस्ने कोठाको झ्यालमा रहेकाे प्लाइउड हटाएर जाली राखियाे
रुपन्देही- कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री, हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको कोठामा गरिएको भौतिक परिवर्तनबारे जानकारी दिएको छ। सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा चार महिनादेखि रुपन्देही कारागारमा थुनुवा रहेका लामिछानेको कोठाको झ्यालमा पहिले राखिएको प्लाइउड हटाएर अहिले जाली जडान गरिएको कारागारले जनाएको हो।
कारागारका अनुसार लामिछानेलाई प्रारम्भदेखि नै सुरक्षा कारण देखाएर छुट्टै बन्दीगृहको एक अलग कोठामा राखिएको हो। उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था छ भने प्रारम्भदेखि नै भेटघाट र टेलिफोन सुविधा उपलब्ध गराइएको छ।
कारागार प्रशासनले दिएको जानकारी अनुसार, रुपन्देही कारागारमा २५० जनाको क्षमता भए पनि हाल ६४० जना बन्दी छन्। क्षमता भन्दा तीन गुणा बढी बन्दी भए पनि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर कानुन बमोजिम सेवा सुविधा उपलब्ध गराउँदै आएको दाबी कारागारले गरेको छ।
प्रशासनका अनुसार, कारागारको भौतिक संरचना र क्षमता अनुरूप बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, अध्ययन (विद्यालय शिक्षा तथा पत्रपत्रिका), टेलिभिजन हेर्ने, आफन्त भेट्ने र टेलिफोन गर्ने सुविधा समान रूपमा दिइँदै आएको छ।
विज्ञप्तिमा भनिएको छ— “कारागार ऐन, २०७९ र कारागार नियमावली, २०२० अनुसार अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका बन्दीहरूलाई अतिरिक्त सुविधा प्रदान गर्ने व्यवस्था छ। कानुनले तोकेको ‘सकारात्मक विभेद’ बाहेक बन्दीहरूबीच अन्य प्रकारको विभेद गरिएको छैन।” साथै, प्रशासनले समय–समयमा कारागारभित्रको अवस्था अवलोकन गर्ने, बन्दीहरूको गुनासो सुन्ने र उपलब्ध स्रोत अनुसार समाधान गर्ने कार्य भइरहेको जनाएको छ।




कागजपत्र |
