चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्ने आदेश, तर तत्काल नछुट्ने


काठमाडौं – काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ ‘चक्रे मिलन’लाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो।

अदालतले चक्रेसँगै राजेश खड्कालाई ३० हजार, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र ऋतिक लामालाई २०–२० हजार तथा अन्य १५ जनालाई जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरूलाई अभद्र व्यवहारको कसुरमा साउन १५ गते काठमाडौंको साम्बाला होटलबाट पक्राउ गरिएको थियो।

धरौटी आदेशपछि अधिकांश आरोपीले रकम बुझाएर रिहा भए पनि चक्रे मिलन तत्काल छुट्ने छैनन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार, चक्रेविरुद्ध भक्तपुरमा दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा बाँकी रहेकाले उनलाई भक्तपुर पठाइनेछ। भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानेले पनि काठमाडौंबाट रिहा भएपछि चक्रेलाई सोही मुद्दामा अनुसन्धानका लागि ल्याइने बताए।

भक्तपुरको सानोठिमीस्थित एक रेष्टुरेन्टमा गत भदौ १० गते भएको आक्रमण प्रकरणमा चक्रेको नाम आएको थियो। जाहेरी अनुसार, पीडित मनिष रायमाझीलाई खुकुरी प्रहार गरी घाइते बनाइएको थियो। सो प्रकरणमा एक अभियुक्तलाई पक्राउ गरिए पनि चक्रे पक्राउ परेका थिएनन्।

साउन १५ मा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले मध्यराति साम्बाला होटलमा चक्रेको जन्मदिन पार्टी चलिरहेको बेला चक्रेसहित ४७ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २८ जनालाई सोही दिन रिहा गरिएको थियो।

प्रतिक्रिया