भक्तपुर मालपोत कार्यालय प्रमुख र सहयोगीविरुद्ध २४ लाख ५० हजार घुस मुद्दा


काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्य र राउतविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए।

अनुसन्धानको क्रममा आचार्य र राउतले सेवाग्राहीसँग मिलेर भक्तपुरको साविक चाँगुनारायण–५ ख मा रहेको उक्त जग्गा मोही बाँडफाँड/नामसारीको काम सहजीकरण गरी प्रमाण पूर्जा बनाइदिने भनेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

अख्तियारले आरोपपत्रमा घुस रकम २४ लाख ५० हजार रुपैयाँ कायम गर्दै विशेष अदालतमा पेश गरेको छ।

प्रतिक्रिया