
जथाभावी अभिव्यक्ति नदिन नेता–कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आन्तरिक विधि र पद्धतिविपरीत टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टी अनुशासन उल्लङ्घन हुने गरी सार्वजनिक अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न आज जारी निर्देशमार्फत पार्टीले स्पष्ट पारेको हो। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई हानि पुग्ने खालका अभिव्यक्ति र सामग्री सामाजिक सञ्जालमा नराख्न सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले भने, “पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमत आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु।”
हालै सम्मानित नेता झलनाथ खनालले “नेकपा एमालेबाट छुट्टिनु गल्ती थियो” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीपछि अध्यक्ष माधवकुमार नेपाल उनीप्रति असन्तुष्ट भएका थिए।



कागजपत्र |
