
पशुपतिमा शव दहन क्रममा मासु झिकेर बेच्ने अनौठो घटना
काठमाडौं- पशुपति आर्यघाटमा शव दहनका क्रममा शवबाट मासु र हड्डी चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार शवबाट निकालिएको मासु र हड्डी मसान जगाउन प्रयोग गर्ने अघोरी बाबालाई बेचिने गरेको आशंका गरिएको छ।
मलामीको उजुरीका आधारमा शुक्रबार आर्यघाटमा शव दहन गर्ने घाटे गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको बनेपाका राम शाहीको शव अत्येष्टिका क्रममा मासुको टुक्रा झिकेर अर्का व्यक्तिलाई दिइएको भन्दै मलामीले प्रहरीलाई खबर गरेका थिए।
ढकालले सोधपुछमा आफूले मासु नभएर हड्डी झिकेको बताए पनि उनले कसलाई र किन उक्त हड्डी दिएको भन्ने विषयमा केही स्पष्ट जवाफ दिएका छैनन्।
प्रहरीका अनुसार यस्तो घटनाको कानुनी दायरामा कसरी कारबाही गर्ने भन्ने विषयमा अस्पष्टता रहेको छ। अनुसन्धान अझै जारी छ र अनुसन्धानको परिणामअनुसार कानुन व्यवसायी तथा सरकारी वकिलसँग परामर्श गरी आवश्यक कारबाही गरिनेछ।
ढकालमाथि लागेको आरोपअनुसार उनले मृतकको मासुको टुक्रा पाँच सय रुपैयाँमा जोगीजस्तो देखिने एक व्यक्तिलाई बेचेका थिए, जसमा सय रुपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ आफैले राखेको बताइएको छ। तर ढकालले पैसा लिएको स्वीकार गरेका छैनन्।
केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङले शवबाट मासु र हड्डी चोरी हुनु सामान्य नभएको र अनुसन्धानको लागि कानुनी आधार तयार गर्नुपर्ने बताए। उनीहरूको भनाइ अनुसार घाटे र अघोरी बाबाबीच मिलेमतो हुनसक्ने आशंका गरिएको छ।



कागजपत्र |
