
‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने दिदी पनि पक्राउ
कञ्चनपुर- गएको आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको घटनाले नयाँ मोड दिएकाे छ। सम्झनाको मृत्यु प्रकरणमा श्रीमान्, ससुरा र सासूपछि अब श्रीमान् पवन भट्टकी दिदी पूजा भट्ट पनि पक्राउ परेकी छन्।
मृतकका माइती पक्षले प्रहरीलाई बुझाएको अडियोमा पूजाले आफ्नै भाइलाई “सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे” भन्दै आदेश दिएकी छिन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराका अनुसार पीडित पक्षको किटानी जाहेरीका आधारमा शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट पूजालाई पक्राउ गरिएको हो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
यसअघि पवन, उनका बुवा हरिदत्त भट्ट र आमा किरण भट्ट पक्राउ भइसकेका छन्। सबैजनालाई जिल्ला अदालतको आदेशमा म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ।
सम्झनाका माइती पक्षले विवाहपछि दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएका] आरोप लगाएका छन्। त्यही यातना र पारिवारिक दवावका कारण उनले ज्यान गुमाएको दाबी छ।
पूजालाई पक्राउ नगरेसम्म शव नउठाउने अडान लिएका माइती पक्षले उनको गिरफ्तारीपछि मात्र शवको दाहसंस्कार गरेका हुन्।



कागजपत्र |
