लेखा समितिले १० मन्त्रालयलाई बेरुजु नियन्त्रणका लागि दियाे निर्देशन


काठमाडाैं- सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु हुने १० मन्त्रालयलाई आगामी दिनमा स्पष्ट कार्ययोजना बनाएर बेरुजु नियन्त्रण गर्ने लक्ष्य राख्न निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयका अधिकारीहरूसँग छलफलपछि समितिले बेरुजु लक्ष्य निर्धारण गरी त्यसलाई कम गर्न पहल गर्नुपर्ने र भविष्यमा कुनै पनि बेरुजु नहोस् भनी विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग बेरुजु फर्छ्योट जोड्नुपर्ने पनि भनेको छ। प्रारम्भिक प्रतिवेदनमा लेखा अधिकारीहरूलाई गम्भीर बन्न पनि मन्त्रालयलाई सुझाइएको छ।

महालेखा नियन्त्रक कार्यालयले विगत दुई आर्थिक वर्षमा विभिन्न कार्यालयमा सरुवा भएका कर्मचारीहरूको कार्यसम्पादन अवस्थाको तथ्यांक तयार गर्नुपर्ने बताइएको छ। समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, ती कर्मचारीहरूको अबको प्रतिबद्धता र कार्यसम्पादनको विस्तृत विवरण माग्नुपर्ने छ।

पोखरेलले भने, “विगत दुई वर्षमा लेखा कर्मचारीहरूले जहाँ–जहाँ काम गर्नुभयो, उहाँहरूको कार्यसम्पादन कस्तो छ, त्यो महालेखा नियन्त्रक कार्यालयले तयार गर्नुपर्छ। अबको प्रतिबद्धता के हो, त्यो पनि माग्नुपर्छ।”

उनले केही लेखा अधिकारीहरू निश्चित मन्त्रालय वा विभागमा दौडिने (पदस्थापनामा फेरबदल हुने) अवस्था रहेको र ती अधिकारीहरूले गरेको काम र कारबाहीको हिसाब राख्न आवश्यक रहेको बताए।

प्रतिक्रिया