शिक्षकहरू फेरि आन्दोलनमा उत्रिने


काठमाडाैं- नेपाल शिक्षक महासंघले भाद्र दोस्रो हप्ताबाट आन्दोलनको कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले शिक्षा विधेयकमा पूर्वसहमति अनुसारका प्रावधान नसमेटिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने तयारी थालेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भाद्र दोस्रो साता प्रारम्भसँगै आन्दोलनको सुरुआत गरिनेछ। आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले प्रारम्भिक खाका तयार गर्नेछ भने त्यसलाई महासंघको राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए।

सुवेदीले बैठकमा सरकारसँग भएको अघिल्लो सहमतिको समग्र समीक्षा गरिएको जानकारी दिए। उनका अनुसार अहिलेसम्मको विधेयकको प्रक्रियाले शिक्षक, कर्मचारी र विद्यालय शिक्षाका प्रमुख समस्या समाधान हुने संकेत देखिएको छैन। समग्र शिक्षक समुदाय सन्तुष्ट हुने गरी विधेयक नआएको महासंघको ठहर रहेको उनले बताए।

त्यसअघि महासंघले भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठक बोलाएको छ। अध्यक्ष सुवेदीले प्रतिनिधिसभामा विधेयक दर्ता नभएको हुँदा अहिले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी नभएको बताए। विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि मात्र त्यसले समेटेका विषयबारे विस्तृत मूल्यांकन गरिने उनको भनाइ छ।

प्रतिक्रिया