सिन्धुलीका युवकको मिर्गौला बेचबिखन प्रकरणः थप तीन जना पक्राउ


काठमाडाैं – सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको भारत पुर्‍याएर जबर्जस्ती मिर्गौला निकालिएको घटनामा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार पक्राउ परेकामा कुमार भनेर चिनिने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक व्यक्ति छन्। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको पंगेनीले जानकारी दिए।

पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला अदालतमा पेस गरी म्याद थपको प्रक्रिया अघि बढाइएको छ भने एक जनाको हकमा अझै थप सोधपुछ आवश्यक रहेकाले म्याद थप गरिएको छैन।

यसअघि बिहीबार बिहान मात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए। यससँगै घटनामा संलग्न भइ पक्राउ पर्नेको संख्या चार पुगेको छ।

सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी खिलबहादुरलाई होटलमा जागिर लगाइदिने प्रलोभनमा पारेर काठमाडौं ल्याइएको थियो। त्यसपछि उनीहरूद्वारा भारत पुर्‍याएर मिर्गौला निकालिएको र पुनः स्वदेश फर्काइएको खुलेको हो।

प्रहरी अनुसन्धानबाट समीर र कुमारले भारतबाट खिलबहादुरलाई जिम्मा लिई नयाँबसपार्कसम्म ल्याएको पुष्टि भएको छ। घटनामा थप व्यक्ति संलग्न हुन सक्ने आशंकासहित अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया