
गृहमन्त्रीलाई सांसद शर्माको सवाल- ठगका पार्टनर जेलमा, मुख्य आरोपी विदेशमै ?
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगीका कारण हजारौं नागरिक पीडित बनेको अवस्थामा जिम्मेवार पदमा रहेका व्यक्तिहरूमध्ये केहीमाथि कारबाही अघि बढेको भए पनि प्रमुख अभियुक्तमध्ये एक जीबी राई अझै उन्मुक्तिमा रहेको बताएका हुन्।
‘गृहमन्त्रीज्यूलाई सम्माननीय सभामुखमार्फत म सोध्न चाहन्छु,’ शर्माले भने, ‘सहकारी ठग कोही जेल गए तर कोही अझै पनि कानूनको दायरामा किन परेका छैनन्? जीबी राईका दुईजना साझेदारहरू जेलमा छन्, तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन अहिलेसम्म सफल हुन सकेको छैन?’
उनले मलेसियामा रहेका भनिएका राईलाई नेपाल झिकाउन नसक्नु कूटनीतिक कमजोरी भएको जिकिर गर्दै थपे, ‘उनी भागे यता नेपालमा तीनजना गृहमन्त्री भइसके। हाम्रो कूटनीतिक र प्रशासनिक क्षमता यति कमजोर छ कि हामी हजारौं नेपालीलाई ठगेको टिमको उपप्रमुखलाई ल्याउन सक्दैनौं?’
सांसद शर्माले सहकारी ठगीमा पीडित बनेका सर्वसाधारणको पीडालाई तत्काल सम्बोधन गर्न माग गरे। उनले सरकारलाई पाँच लाखसम्मको बचत तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अघि बढाउन आग्रह गरे।



कागजपत्र |
