
बागमतीमा नयाँ सरकार गठन, ९ सदस्यीय मन्त्रिपरिषद्ले लियाे शपथ
काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आठ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मकवानपुरको हेटौंडामा रहेको प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री बानियाँसहित अन्य मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा देवकोटाले संविधानको धारा १६८(२) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री बानियाँले एमालेका छ र कांग्रेसका दुई गरी आठ जना मन्त्रीहरू सिफारिस गरेका थिए, जसको आधारमा प्रदेश प्रमुखले उनीहरूलाई नियुक्त गरेका हुन्।
एमालेबाट दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री, जयराम थापा श्रम तथा रोजगार मन्त्री, भरतबहादुर केसी वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेल कृषि तथा पशुपक्षी मन्त्री, बिन्दु श्रेष्ठ उद्योग मन्त्री तथा किरण थापा मगर स्वास्थ्य मन्त्रीको रूपमा नियुक्त भएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसबाट कृष्णबहादुर तामाङ खानेपानी मन्त्री र शिवराज अधिकारी अर्को मन्त्रीको रूपमा सरकारमा सहभागी भएका छन्।



कागजपत्र |
