इंग्ल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित, सिरिज बराबर


काठमाडाैं- भारतले अन्तिम तथा पाँचौं टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डमाथि ६ रनको रोमाञ्चक जीत निकालेको छ ।

केनिङटन ओभलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड खेलको पाँचौं दिन खाना समयअघि ३ सय ६७ रन बनाउँदा अलआउट भयो ।

आजको दिनको खेल शुरू गर्दा इङ्ग्ल्यान्डले हातमा ४ विकेट हुँदा ३५ रन बनाउनुपर्ने थियो । तर इङ्ग्ल्यान्डले २८ रन बनाउँदा ४ विकेट गुमायो । इङ्ग्ल्यान्डका जो रुट र ह्यारी ब्रूकले शतक तथा बेन डकेटले अर्धशतक बनाए । भारतका मोहम्मद सिराजले ५, प्रसिद्ध कृष्णाले ४ र आकाश दीपले १ विकेट लिए ।

भारतले दोस्रो पारीमा यशस्वी जैसवालको शतक तथा आकाश दीप, रविन्द्र जडेजा र वाशिङ्गटन सुन्दरको अर्धशतकको मद्दतमा ३ सय ९४ रन बनाएको थियो । इङ्गल्यान्डका जोश टङ्गले ५, गस एट्किन्सनले ३ र जेमी ओभरटनले २ विकेट लिएका थिए ।

पहिलो पारीमा इङ्ग्ल्यान्डले २ सय ४७ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा २ सय २४ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डमाथिको ६ रनको जीत टेस्टमा रनको हिसाबले भारतको सबैभन्दा सानो अन्तरको जीत हो । यसअघि भारतले अस्ट्रेलियामाथि १३ रनको जीत निकालेको थियो ।

यो जीतसँगै भारतले पाँच खेलको टेस्ट शृङ्खलामा २–२ को बराबरी गरेको छ । शृङ्खलाको पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । यस्तै तेस्रो खेल भारतले जित्दा चौथो खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया