
हत्कडीसहित भागेका युवक भंगालमा पक्राउ
काठमाडौं- राजधानीको बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक सोमबार बिहान सवा ६ बजेतिर हातमा हत्कडी लगाएका एक युवक एक्लै हिँडिरहेको देखिएपछि स्थानीयवासी अचम्ममा परे।
नजिकै प्रहरीको उपस्थिति नदेखिएपछि स्थानीय एक व्यक्तिले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरे। सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर ती युवकलाई नियन्त्रणमा लियो।
प्रहरीका अनुसार पक्राउ परेका युवक २० वर्षीय दिलीप राय हुन्। उनलाई केही दिनअघि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो।
पक्राउपछि उनलाई हत्कडी लगाएर प्रहरी नियन्त्रणमा राखिएको थियो। तर, उनी प्रहरी हिरासतबाट हत्कडीसहित फरार भएको खुलेको छ।
पुनः पक्राउ गरिएका रायलाई अहिले पुनः लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
