
जिम गर्दैगर्दा २२ वर्षीय क्रिकेटरलाई हृदयघात, निधन
काठमाडौं भारतको पश्चिम बंगाल राज्यका एक युवा क्रिकेट खेलाडीको जिम गर्दैगर्दा हृदयघातका कारण निधन भएको छ।
२२ वर्षीय प्रियजित दासको शुक्रबार बिहान जिम सत्रको क्रममा अचानक हृदयघात भएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना पश्चिम बंगालको वीरभूम जिल्लाको बोलपुरमा घटेको हो।
प्रियजित उदयमान क्रिकेट खेलाडी थिए। उनी रणजी ट्रफीमार्फत पश्चिम बंगालको तर्फबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यमा थिए। क्रिकेट यात्राको सुरुआत जिल्ला स्तरबाट गरेका प्रियजित सन् २०१८/१९ मा क्रिकेट एशोसिएसन अफ बंगालद्वारा आयोजित अन्तर-जिल्ला यू-१६ क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए। उक्त प्रदर्शनका कारण उनलाई सीएबीले सम्मानित पनि गरेको थियो।
शारीरिक रूपमा फिट रहने उद्देश्यले प्रियजित नियमित रूपमा जिम जाने गर्थे। शुक्रबार बिहान पनि उनी बोलपुरस्थित मिशन कम्पाउण्ड क्षेत्रमा रहेको जिम गएका थिए। तर व्यायामको क्रममा पसिना झार्दै गर्दा अचानक अस्वस्थ भई ढलेका उनीलाई हृदयघात भएको पुष्टि भएको छ। त्यही कारणले उनको ज्यान गएको हो।



कागजपत्र |
