नारायणगढ–बुटवल सडकको काम सक्न अन्तिम पटक एक वर्ष म्याद थप


काठमाडाैं- नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्न अन्तिम पटकका लागि एक वर्ष म्याद थप गरिएको छ। आयोजनाका अनुसार हाल म्याद ९ साउन २०८३ सम्म कायम गरिएको छ र सो समयभित्र सम्पूर्ण काम सक्नुपर्नेछ।

हाल आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। “यस म्यादभित्र सबै काम सम्पन्न हुने पूर्ण विश्वास दिलाउन चाहन्छौं,” आयोजनाका एक अधिकारीले भने।

हालसम्म कुल ११४.५३ किलोमिटरको सडकमध्ये दाउन्ने क्षेत्र बाहेक अन्य सबै भागमा कालोपत्र सम्पन्न भइसकेको छ। बाँकी रहेको दाउन्ने खण्डको १३ किलोमिटर सडकमा भने अहिले पनि यात्रुहरूलाई सास्ती खेप्नु परेको छ। वर्षाको समयमा सडक चिप्लो हुने भएकाले त्यहाँ सवारी चलाउन निकै समस्या हुने गरेको छ।

यद्यपि, आयोजनाले दाउन्ने खण्डको निर्माण कार्य पनि यसै हिउँदभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यसपछि सम्पूर्ण खण्डमा सहज र सुरक्षित यात्रा सम्भव हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया